जानकारी

जापानका विश्वविद्यालयबारै थाहा पाउनैपर्ने कुराहरु

पछिल्लो समय जापानका विश्वविद्यालयमा पढ्ने विदेशी विद्यार्थीको सङ्ख्या बढ्दो छ । नेपालबाट पनि सिधै विश्वविद्यालयमा पढ्न आउनेहरु धेरै हुनुहुन्छ । जापानी विश्वविद्यालयप्रति विदेशी विद्यार्थी आकर्षित हुने कारणहरु थुप्रै भएपनि हालै जापनी सरकारले विदेशी विद्यार्थीलाई सहयोग गर्ने योजना कार्यान्वयनमा ल्याउने योजना अघि सार्नु चाहिँ प्रमुख हो । सरकारले अधिकांश विश्वविद्यालयलाई अंग्रेजीमा मात्रै लेक्चर दिने अनुमति समेत दिएको छ । परिणामस्वरुप, बढी भन्दा बढी विदेशी विद्यार्थीले पहिला जापानी भाषा नसिक्दै विश्वविद्यालयको अध्ययन पुरा गर्न सक्छन् ।
त्यस्तै विदेशी विद्यार्थीले जापानलाई अध्ययन थलो बनाउनुको अर्को कारण हो जापानी अर्थतन्त्रको महत्व । कुल गाहसर््थ्यका आधारमा जापान अझै पनि विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो भने जापान अधिकांश विकसित प्रविधिको घर पनि हो । यस्ता कारणहरुले जापानमा विदेशी विद्यार्थी बढी आकर्षित हुने गरेको पाइएको छ ।
त्यसैगरि जापानी विश्वविद्यालयमा पढ्दा लाग्ने शुल्क अमेरिका, क्यानाडा र बेलायतजस्ता विकसित राष्ट्रको भन्दा तुलनात्मक रुपमा सस्तो छ । यसबाहेक जापान विश्वकै सुरक्षित राष्ट्रमध्ये एक भएकाले यहाँ आपराधिक घटनाको सङ्ख्या अन्यत्रभन्दा कम छ । अन्तरराष्ट्रिय विद्यार्थीहरुले आफ्नो पढाइमा ध्यान दिँदै आफ्नो व्यक्तिगत जीवनको आनन्द पनि यहाँ उठाउन सक्छन् । यसैकारण पनि उच्च शिक्षाका लागि जापान अन्तरराष्ट्रिय विद्यार्थीको रोजाइको देश बन्न पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *